Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

अत्यधिक जाडोका कारण दुईजना भुकम्प पीडितको मृत्यु

अत्यधिक जाडोका कारण दुईजना भुकम्प पीडितको मृत्यु

  • शनिवार, कार्तिक २५ २०८०

  • 489
    SHARES

  • अत्यधिक जाडोका कारण दुईजना भुकम्प पीडितको मृत्यु

    काठमाडौं । भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ। खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनुपर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो।

    अत्यधिक जाडोका कारण बिहीबार र शुक्रबार गरी दुईजनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया महिला पम्फा रावल र सोही वडाकै ८४ वर्षीय गोपालबहादुर रावल छन्। वडाध्यक्ष बद्री पन्तका अनुसार गोपालको दम रोगका कारण र पम्फाको निमोनियाका कारण मृत्यु भएको हो।

    चिसोले निमोनिया भएपछि उपचारका क्रममा दल्लीस्थित नगर अस्पतालमा पम्फाको मृत्यु भएको उहाँले बताउनुभयो । वडाध्यक्ष पन्तका अनुसार लहँमा तुसारो परेको र सिरेठो जाडो पनि बढ्दै गएपछि एकसरो लुगा र त्रिपालका भरमा रात काट्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको छ।

    उहाँका अनुसार तीन सय ७५ घरधुरी रहेको वडामा नं ४ मा दम, बाथ र मुटु रोगी ३० ज्येष्ठ नागरिक र ३० जना सुत्केरीको व्यवस्थापन गर्न समस्या भएको छ। बालबालिका बिरामी हुन थालेको भन्दै वडाध्यक्ष पन्तले चिसोले स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा बिरामीको सङ्ख्या बढ्न थालेको बताउनुभयो।

    दल्ली नगर अस्पतालका डा विशाल उप्रेतीले चिसोका कारण ज्वरो, रुघाखोकी, झाडापखाला, मुटुरोग र दमका बिरामी बढिरहेको जानकारी दिनुभयो। उहाँले अस्पतालमा ज्येष्ठ, नागरिक, बालिका, महिला गरी दैनिक एकसय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो।

    भूकम्पले बाग्मारे–कल्लेरी, तिपतिपे–औल र चतुलाइना–कोठीगाउँ खानेपानीलगायत करिब ५० योजनामा क्षति पुग्दा खानेपानी सङ्कट बढेको नगरप्रमुख रावतले बताउनुभयो। ‘स्थानीयहरु नदीको दूषित पानी खान बाध्य छन्’, उहाँले भन्नुभयो, ‘अधिकांश स्थानीयका शौचालय भत्किएपछि खुलास्थानमा शौच गर्न बाध्य भएकाले रोग फैलने खतरा बढेको छ।’

    नेपालगन्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा श्याम विकले भेरी नगरपालिकाको रावतगाउँ, नलगाडको चिउरी, कालेगाउँलगायत ठाउँमा चार दिनसम्म बसेर करिब चार सय बिरामीको उपचार गरेर फर्किएको बताउनुभयो ।

    उहाँका अनुसार भूकम्प गएको एकरदुई दिनदेखि नै बालबालिका र ज्येष्ठ नागरिकमा निमोनिया र दमको लक्षण देखिन थालिसकेको थियो। नियमित औषधि सेवनकर्ताको भूकम्पले घर भत्काउँदा औषधि पुरिएपछि उनीहरुले औषधि खानबाट वञ्चित भए जसले गर्दा उनीहरुमा चिसोले असर पार्दै गएको छ।

    नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले पीडितका आधारभूत आवश्यकता परिपूर्ति गर्न निरन्तर लागि परेको बताउनुभयो ।

    ‘एकैपटक सबै कुरा गर्न गाह्रो छ तथापि प्रतिपरिवार एउटा त्रिपाल र कम्बल दिएका छौँ’, उहाँले भन्नुभयो। एक–एक थान त्रिपाल र कम्बलकै साहारामा रात कटाउनुपर्दा सिरेठो जाडोले ज्येष्ठ नागकि, बालबालिका र सुत्केरीमा दम, रुघाखोकी, निमोनिया, ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्या देखिन थालेको उहाँको भनाइ छ।


    शनिवार, कार्तिक २५ २०८०१०:३१:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij