काठमाडौं । मुगुमा एकै परिवारका चारजनाको सामुहिक हत्यामा दुईजना संलग्न रहेको पाइएको छ । प्रहरीका अनुसार दुवैजना मृतकका आफन्त र छिमेकी हुन् ।
कात्तिक १० गते बिहान छायानाथ रारा नगरपालिका(६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ८ महिने अर्का छोरा रहर मृत अवस्थामा भेटिएका थिए । दुई दिनसम्म घरमा चहलपहल नदेखिएपछि स्थानीयले ढोका फोरेर हेर्दा उनीहरू मृत भेटिएका थिए ।
घटनामा प्रहरीले गाउँकै गोपालबहादुर बोहरा र गोरखबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रहरीले दुवैलाई आज दिउँसो सार्वजनिक गर्दैछ । प्रहरीका अनुसार लुट्ने मनसायले घटना भएको देखिन्छ । गोपाल र गोरख दुवै मृतकका आफन्त र छिमेकी हुन् । गोरख भने बाँकेको कोहलपुरमा बस्दै आएका थिए । अनुसन्धानका क्रममा गोरख दसैँको दुई दिनअघि गाउँ गएपनि गाउँलेले चाल पाएका थिएनन् ।
उनी गोपालको गोठमा लुकेर बसेको अनुसन्धानका क्रममा खुलेको छ । दसैँको भोलिपल्ट कात्तिक ८ गते राति साढे ८ बजे दुवैजना श्रीदेवीको घरमा छिरेको र सबैको हत्या गरेर लुटपाट गरेको प्रहरीले दाबी गरेको छ ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार गोरख घटना भएकै राति सुर्खेत भागेका थिए । गोपाल भने गाउँमै बसेका थिए ।