काठमाडौं । फुलैफूलको पर्व तिहारमा पुष्प व्यवसायीहरू फुल टिप्ने र माला बनाउने काममा व्यस्त देखिन्छन् । खासगरी फूलको व्यापार बढी हुने तिहारका लागि पुष्प व्यवसायीहरूले तयारी थालेका हुन् । फूलको बिक्री तथा फूल तथा नर्सरीबारे जानकारी र प्रचारप्रसार समेत गर्ने उद्देश्यले व्यवसायीहरूले मेला समेत आयोजना गरेका छन् । उनीहरू आफूले गरेको मेहनतको फल प्राप्ति हुने आशामा भएपनि यसवर्ष समेत भारतबाट फूल आयात हुँदा निराशामा परेका छन् । व्यवसायीहरूले गतवर्ष प्रतिमाला ३० देखि ३५ रुपैयाँसम्ममा बिक्री गरेपनि यो वर्ष २० देखि २२ रुपैयाँ मात्रै रहेको उनीहरूको गुनासो छ । क्रमशः पुष्प व्यवसायी राधा थापा, निर्मला बस्नेत, मैया बस्नेत पनि माला बनाउन व्यस्त हुनुहुन्छ । आशा छ फुलले केही दिनपछि राम्रै मूल्य प्राप्त गर्ने छ ।
फ्लोरीकल्चर एशोसिएसन अफ नेपालका अध्यक्ष मीनबहादुर तामाङ भने निराश बन्नुभएको छ । सरकारको एक निकायले प्रतिबन्ध लगाएको फुललाई अर्को निकायले अनुमति दिँदा भारतीय बजारबाट फुल नेपाल भित्रिएका छन् ।
आर्थिक वर्ष २०७९–०८० सम्म नेपालका ४८ जिल्लाका २२१ हेक्टरमा व्यावसायिक फूल खेती भएको फ्लोरीकल्चर एशोसिएसन अफ नेपाल फ्यानको तथ्यांक छ । यसबाट करिब ४४ हजारले रोजगारी पाएका छन् । हाल नेपालमा पुष्प व्यवसायीको संख्या एक हजार भन्दा बढी रहेको अनुमान गरिएको छ । नेपालमा अघिल्लो आर्थिक वर्षसम्म करिब ३ अर्बको फूल कारोबार भएको थियो । कोभिडका कारण मन्दीमा पुगेको पुष्प व्यवसायले फेरि रिकभरी गर्दै सो बराबरको कारोबार गरेको हो । यो वर्ष यस्तो कारोबारमा २० प्रतिशत वृद्धि हुनसक्ने व्यवसायीको अनुमान छ ।
गतवर्ष नेपालमा ३३ करोडको फूल आयात भएको थियो भने करिब ६८ लाख रुपैयाँको फूल निर्यात भएको थियो । नेपालमा हुने खुद आयात कुल कारोबार रकमको करिब ११ प्रतिशत हो । तिहारमा हुने मखमली, सयपत्री तथा गोदावरी फूलको कारोबारले भने वार्षिक कारोबारको करिब २० प्रतिशत मात्रै हिस्सा ओगट्ने गरेको छ । गत वर्ष तिहारमा करिब ६१ करोड बराबरको यस्तो कारोबार भएको थियो ।