काठमाडौं । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावितका लागि प्रदर्शनरत फिल्म ‘परदेशी २’ले ५१ हजार रूपैयाँ सहयोग गर्ने भएको छ ।
भूकम्प प्रभावितका लागि स्थापित सरकारी कोषमा उक्त रकम जम्मा गर्ने फिल्मका निर्देशक नारायण रायमाझीले जानकारी दिनुभयो ।
यही कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते भएका छन् ।
यसैगरी दुवै जिल्लामा गरी १७ हजार ७ सय बढी घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । सरकारले एकद्वार प्रणालीबाट राहत सामग्री वितरणको काम सुरु गरेको छ भने उनीहरुलाई आवासको व्यवस्था गर्ने काम पनि अघि बढाइएको जनाएको छ । भूकम्पबाट प्रभावितका लागि थुप्रैतिरबाट राहतको घोषणा एवं वितरण भइरहेको छ ।