काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि सरकारको उपस्थिति घटनास्थलमा देखिएपनि आश्वस्त हुने गरी पीडितले राहत पाएका छैनन् ।
विभिन्न संघसंस्थाहरु राहत लिएर पुगेका छन् । सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत राहत पठाउने काम भइरहेको छ । तर, भूकम्प गएको दुई दिन बितिसक्दा पनि धेरै पीडितहरु खुला आकाशमुनि रात बिताउन बाध्य देखिन्छन् ।
विपद्मा तत्काल खर्च गर्न मिल्ने गरी कोष खडा गरिएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सरकारले पीडितको उद्धार, राहत र पुर्नस्थापनाको काम गर्छ । २०७२ वैशाखको भूकम्पमा पनि यसै कोषमार्फत सरकारले २२ अर्बभन्दा बढी खर्च गरेको थियो । अहिले यो कोषमा जम्मा तीन अर्ब रुपैयाँ छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आइतबार सूचना जारी गर्दै देश विदेशमा रहेका सहयोग गर्न इच्छुकलाई दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अनुरोध गरेको थियो । सात वटा बैंकहरु राष्ट्रिय वाणिज्य बैक, कृषि विकास बैक लिमिटेड, नेपाल बैंक लिमिटेड, स्टान्डर्ड चार्टड बैक नेपाल लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडमा खोलिएको खातामा रकम जम्मा गर्न प्रधानमन्त्री कार्यालयले अनुरोध गरेको हो ।
भाटभटेनी सुपरमार्केटका धनी मिनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँको चेक हस्तान्तरण गरिसके । त्यस्तै ठूला राजनीतिक दलहरु क्रमशः नेपाली कांग्रेस, एमाले र माओवादीले पनि भूकम्प पीडितलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै विभिन्न वैदेशिक राष्ट्रबाट पनि सहयोगको आश्वासन आएको छ । चितवनको भरतपुर महानगरपालिका लगायत स्थानीय तहले पनि सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।