काठमाडौं। माइतिघर मण्डलामा अनसनरत नेपालगञ्जकी भारती शेर्पा मानन्धर पत्रकार सम्मेलनस्थलमै बेहोस हुनु भएको छ। आफ्ना पति चेतन मानन्धरको हत्यामा दोषी ठहर भएर जेल सजाय काटीरहेका गुण्डा नाइके योगराज ढकाल (रिगल)को कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनरत शेर्पा आज आयोजित पत्रकार सम्मेलनमै ढल्नु भएको हो ।
गत शुक्रबारदेखि अनसन सुरु गर्नु भएकी शेर्पा आज सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा पुग्नु भएको थियो। पत्रकार सम्मेलनमा अरु वक्ताहरुले बोल्ने क्रममा बेहोस भएपछि वीर अस्पताल लगिएको एक सहयोगीले जानकारी दिएका छन्।यसअघि सर्वोच्च अदालतमा तारिख लिन जाँदा पनि बेहोस भएर ढलेपछि वीर अस्पताल भर्ना गरिएको थियो।
आफ्नो पतिको हत्यामा संलग्नलाई दिइएको कैद छुटको निर्णय खारेज हुनुपर्ने माग राखी शेर्पाले असोज १७ गतेदेखि अनसन शुरु गर्नुभएको थियो ।दशैं विदामा अनसन स्थगित गर्नुभएकी उहाँले गत शुक्रबारदेखि फेरि रिले अनसन जारी राख्नुभएको छ।
शेर्पाले आफ्ना पति चेतनको हत्यामा संलग्न बाँकेका रिगल ढकालको कैद मिनाहा गर्ने मन्त्रिपरिषदको सिफारिस र राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा समेत रिट निवेदन दर्ता गर्नुभएको छ। सर्वोच्चले मुद्दाको सुनुवाइपछि विपक्षीहरुसँग कागजात समेत मगाइसकेको छ। मंगलबारदेखि मुद्दामा निरन्तर सुनुवाइ हुनेछ।