काठमाडौं। मुगु सामुहिक हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थल पुगेको छ। हिजो छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी तीन छोराछोरी र आमाको हत्या भएको अबस्थामा शव फेला परेको थियो।
मुगु प्रहरीले शुक्रबारदेखि सिल गरेर राखेको घटनास्थलमा प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र कोहलपुरबाट मुगुका लागि हिडेको कुकुरसहितको टोली घटनास्थलमा पु्गिसकेको हो। अहिले अनुसन्धान भइरहेको मुगुका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
२८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो। उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको बताइएको छ।
घटनास्थल रक्ताम्य रहेको हुनाले हत्या नै भएको दाबी प्रहरीको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख,प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालका अनुसार उक्त घटनाको प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ।