काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो भूकम्पपछि लगातारजसो परकम्प गइरहेका छन् । थप ठूलो धक्कासमेत आउन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन उहाँको आग्रह छ ।
भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई खुलाचौरमा बस्न उहाँको अनुरोध छ । यस्तै, भूकम्पका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । भूकम्पको केन्द्रबिन्दु र आसपासका क्षेत्रका केही घरमा क्षति पुगेको छ ।
ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैका अनुसार भूकम्पका कारण दुई वटा घरमा पूर्ण क्षति पुगेको छ भने १० वटा घरमा आंशिक क्षति भएको छ ।
भूकम्पपछि वडा नम्बर ५ को एक ठाउँमा ठूलो पहिरोसमेत गएको छ । भूकम्प गएपछि बिहान त्यस क्षेत्रमा केहीबेर विद्युत् आपूर्ति बन्द भएको थियो । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिरै सुरक्षित बस्न भनिएको हो ।