Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

आजदेखि गैरआवासीय नेपालीलाई नागरिकता दिन शुरु, प्रधानमन्त्री प्रचण्डद्वारा आचार्य र केशीलाई नागरिकता प्रदान (खासखबर)

आजदेखि गैरआवासीय नेपालीलाई नागरिकता दिन शुरु, प्रधानमन्त्री प्रचण्डद्वारा आचार्य र केशीलाई नागरिकता प्रदान (खासखबर)

  • मंगलवार, आश्विन ३० २०८०

  • 370
    SHARES

  • आजदेखि गैरआवासीय नेपालीलाई नागरिकता दिन शुरु, प्रधानमन्त्री प्रचण्डद्वारा आचार्य र केशीलाई नागरिकता प्रदान (खासखबर)

    काठमाडौं । सरकारले लामो समयपछि गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रममा आज बिहान गैरआवासीय नागरिकता प्रदान गर्नुभएको छ । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुवात गर्नुभएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेका थिए । नागरिकता प्राप्त गरेपछि अध्यक्ष केसीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको बताउँदै सरकारलाई धन्यवाद दिनुभयो । नागरिकता कागज नभएर अभिभारा रहेको र जिम्मेवारी थपिएको उहाँको भनाइ छ ।

    गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष कुल आचार्यले नेपाली नागरिकता पाएसँगै फेरि मातृभूमिसँग जोडिन पाउँदा भावुक बनेको बताउनुभएको छ । गैरआवासीय नेपाली नागरिकताले अभिभावकहरुसँगै छोराछोरी र नातीनातिनालाई पनि नेपालसँग जोड्ने उहाँको भनाइ छ ।

    गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नागरिकता प्राप्त भएसँगै देशलाई समृद्ध बनाउने अभियानले वैधानिकता पाएको बताउनुभएको छ । गैरआवासीय नागरिकता कागजको टुक्रा मात्र नभई मुटुको अंश बनेको भन्दै उहाँले प्रत्येक धड्कनमा गैरआवासीय नेपालीहरु नेपाल आमालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेमा लाग्ने बताउनुभयो ।

    नागरिकता वितरण गर्दै प्रधानमन्त्री प्रचण्डले एनआरएनएलाई नागरिकता दिन निकै मेहनत गर्नुपरेको स्मरण गर्नुभयो । आगामी दिनमा ५० औँ लाख गैरआवासीय नेपालीले नागरिकता लिने उहाँको भनाइ छ ।

    गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नागरिकता पाउने बाटो खुलेको थियो ।

    यता, आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नागरिकता वितरणलाई राष्ट्रघाती कार्यको सुरूवात भन्नुभएको छ । गैरआवासीय नागरिकता वितरणले नेपाललाइ खोक्रो बनाउने उहाँको भनाइ छ ।

     


    मंगलवार, आश्विन ३० २०८००६:४३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij