काठमाडौं । इजरायलको गाँजा क्षेत्र नजिक रहेका नेपालीहरु जोखिममा परेपछि सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिँदैछ । लामो समय बंकरको बास र चिसोका कारण उनीहरुको स्वास्थ्यमा समेत असर परेको छ ।
उनीहरुले स्वदेश फिर्तिका लागि सरकारसँग गुहारिरहेका छन् तर, सरकारले तीन दिन बित्दापनि ठोस कदम चाल्न सकेको छैन । गाँजा क्षेत्र नजिक फसेका नेपाली विद्यार्थी विपिन सुवेदीका अनुसार बंकरमा समेत उनीहरुलाई असुरक्षित छ । ढोका नभएको र भित्र बस्दा स्वास थुनिने समस्याका कारण अप्ठ्यारो भइरहेको थियो । इजरायलबाट नेपाली रेडियो नेटवर्कसँग प्रत्यक्ष जोडिँदै उहाँले स्वदेश फर्किने नै अन्तिम विकल्प रहेको बताउनुभयो ।
आफ्ना विद्यार्थीहरुले पराइको भूमिमा देहत्याग गर्नुपर्दा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय पनि शोकमग्न बनेको छ । टीकापूर बहुमुखी क्याम्पस अन्तर्गतको स्कूल अफ एग्रीकल्चर विभागका प्रमुख सुशील न्यौपानेका अनुसार विद्यार्थीहरु सम्पर्कमा आइरहने र स्वदेश फिर्ताका लागि गुहार मागिरहेका छन् । दश जनाको ज्यान जाने गरी भएको आक्रमण एकजना विद्यार्थी अझै बेपत्ता रहेका छन् ।
सन् १९१४ देखि १९१८ सम्म चलेको प्रथम विश्वयुद्धमा तत्कालीन ओटोमन साम्राज्य पराजित भएपछि बेलायतले प्यालेस्टाइन क्षेत्र आफ्नो नियन्त्रणमा लियो, जहाँ बहुसंख्यक अरब र अल्पसंख्यक यहुदी बस्दै आएका थिए । प्यालेस्टाइनमा यहुदीका लागि छुट्टै मातृभूमि स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायले बेलायतलाई भनेपछि अरबहरुले त्यसको विरोध जनाए । यहीबाट भएको थियो प्यालेस्टिनी अरब समुदाय र यहुदीबीच द्वन्द्वको बीजारोपण । योबीचमा विश्वका विभिन्न देशमा छरिएर रहेका यहुदीहरु आफनो बेग्लै मातृभूमि निर्माण गर्ने भनेर प्यालेस्टाइनमा ओइरिए । सन् १९४८ को मे १४ मा स्टेट अफ इजरायल गठनको घोषणा गरिएपछि अरब लिगले प्यालेस्टिनीको पक्षबाट हस्तक्षेप गर्ने निर्णय गर्यो र अरब–इजरायल युद्ध भड्कियो । राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमानसिंह कार्कीका अनुसार इजरायलले पटक पटक गरेर पाँचवटा मुस्लिम देशहरुलाई त्यहाँबाट लखेटेपछि युद्धका सुरुवात भएको थियो ।
इजरायल र हमासबीच शनिबारदेखि जारी युद्धमा दुवैतर्फ करिब एक हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने हमासका लडाकुहरुले इजरायलका सर्वसाधारण र सैनिक गरी एक सयभन्दा बढीलाई बन्दी बनाएका छन् । नेपाल सरकारले आफ्ना नागरिकलाई चाँडै फिर्ता नबोलाए स्थिति भयावह हुने खतरा छ ।