काठमाडौं । पीडितहरूले इजरायलमा जारी द्वन्द्वको चपेटामा परेका आफन्तहरूलाई तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।
सोमबार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर उनीहरूले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्वन्द्वको चपेटामा परेका लोकेन्द्रबहादुर विष्टसहितका नौ जना विद्यार्थीहरूको तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन् ।
हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकै रहेका उनीहरू आक्रमणको सिकार हुने डरले आत्तिइरहेकाले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरिएको लोकेन्द्रकी काकी चन्द्रा विष्टले बताउनुभयो। सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्कीसहितका नौ जना विद्यार्थीहरू अध्ययनका लागि इजरायल गएका थिए ।
उनीहरूसँग आधा–आधा घण्टामा सम्पर्क हुने गरेको तर आक्रमणको डरले तनावमा रहेकाले सरकारले उनीहरूलाई सुरक्षित ढंगले नेपाल फिर्ता ल्याउन ढिलाइ गर्न नहुने पनि चन्द्राले बताउनुभयो ।
नेपालीहरू बंकर रहेको स्थानबाट करिब २५५ किलोमिटर भित्र रहेकाले उनीहरूलाई यथाशीघ्र बंकरमा पठाउन पहल गर्नका लागि सरकारसँग आफन्तहरूले आग्रह गरिरहेका छन् । ‘छिटो हामीलाई उद्धार गर भनेर हामीलाई बारम्बार तनाव दिइरहेका छन् । फोन गरिरहेका छन् । सुरक्षित ढंगले छिटो हाम्रा बच्चाहरूलाई फिर्ता गराइदेउ सरकार‚’ चन्द्राले सुनाउनुभयो ।
पीडित पक्षले ती विद्यार्थीसँग पराराष्ट्रमन्त्री साउदसँग भर्चुअल्ली सम्पर्कसमेत गराएका थिए ।