काठमाडौं । पर्वतमा भीषण वर्षासँगै आएको बाढीले जिप बगाउँदा एक जनाको मृत्यु भएको छ । यस्तै दुई जना बेपत्ता भएका छन्।
मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा नगरपालिका ७ र ८ को सिमानाका रूपमा रहेको तमादी खोलामा आएको ठुलो बाढीमा पर्दा बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ६२१३ नम्बरको जिप नै बगाएको थियो।
जिपमा सवार रुपन्देहीको तिलोत्तमा नगरपालिकाका गोपाल बस्यालको शव फेला परेको छ भने अन्य दुई जनाको अवस्था अज्ञात रहेको छ। मृत भेटिएका गोपालको शव पर्वत अस्पतालमा राखिएको छ ।
बेपत्ता दुई जनाको अझैसम्म पनि पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले बताउनुभयो। घटना लगत्तै पुगेको सुरक्षाकर्मीहरूको टोलीले तमादी खोला र उक्त खोला मिसिने मोदी खोलासम्म नै खोजी गरेको भए पनि तत्कालै जिप र त्यसमा सवार यात्रुहरूको बारेमा पत्ता लाग्न सकेको छैन ।