काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित एक निजी विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका हुन् ।
मृत भेटिएका बालक चामुण्डा बिन्द्रासैनी नगरपालिका—२ दैलेखका सलाम पुलामी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उषा बालवाटिकामै कक्षा २ मा अध्ययनरत उनी शुक्रबार राति होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
शुक्रबार राति झुण्डिएको अवस्थामा फेला परेका बालकको शव अहिलेसम्म उठाइएको छैन । घटना शंकास्पद भएको भन्दै आफन्तहरू आन्दोलन गरेका छन् ।
आफन्तले होस्टेल बाहिर तोडफोड गरेपछि उषा विद्यालयको परिसर तनावग्रस्त बनेको छ । विद्यालय परिसरमा प्रहरी तैनाथ गरिएको छ । आफन्तहरू घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रु ग्याँससमेत प्रहार गरेको छ ।
प्रहरीले सञ्चालक समितिलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी योगेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
‘प्रहरीले भिडलाई नियन्त्रणमा लिएको छ । शवको मुचुलका उठाउने काम भइरहेको छ,’ एसपी थापाले भन्नुभयो, ‘घटना संवेदनशील छ, थप अनुसन्धान गरिरहेका छौं ।’