काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत, बाल विकासलगायत शिक्षकहरूले बिहीबार(आज) पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
महासंघसँगको सहमतिमा आफूहरूको मागप्रति सरकारले कुनै सुनुवाइ नगरेको भन्दै राहत, पेन्सन वञ्चित, उमावि अनुदान, अस्थायी/करार बाल विकास शिक्षक, कर्मचारी र कार्यालय सहयोगीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा नाचगानसहित निधारमा कालो पट्टि बाँधेर विरोध गरेका हुन्।
शिक्षकहरूको विरोधका कारण बिहीबार पनि सो क्षेत्रको यातायात व्यवस्था अस्तव्यस्त भएको छ । उनीहरूले विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोध गरेका छन् ।
राहत शिक्षकले शतप्रतिशत आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने र बाल विकास शिक्षकहरूले बाल विकास केन्द्र विद्यालय संरचनाभित्र ल्याउनुपर्ने, बाल विकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, बाल विकास शिक्षकलाई आधारभूत तह शिक्षकसरह तलब हुनुपर्नेलगायत माग राखेका छन् ।