काठमाडौं । अनसनरत डा गोविन्द केसीको मागका बारेमा वार्ता र उहाँको जीवन रक्षाको माग गर्दै आन्दोलन दुवै आज सँगसगै हुने भएका छन् ।
नेपाल चिकित्सक संघले घोषणा गरेको आन्दोलन अन्तर्गत आज बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने रहेको छ ।
पटक पटक वार्ताका लागि आग्रह गर्दा पनि सरकारले वास्ता नगरेको भन्दै चिकित्सक संघले हिजो आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
तर संघले आन्दोलन घोषणा गरे लगत्तै सरकारले हिजो वार्ता टोली बनाएको छ भने डा केसीको तर्फबाट पनि वार्ता टोली बनेको छ ।
दुवै पक्षका वार्ता टोलीका बीचमा आज दिउसो ४ बजेपछि वार्ता हुने तय भएको डा केसी पक्षको वार्ता टोलीका सदस्य ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
वार्ता सकारात्मक तरिकाले अगाडि बढेमा संघको आन्दोलनका अन्य कार्यक्रमहरु स्थगित हुनसक्ने र सकारात्मक नभएमा देशैभरीको स्वास्थ्य सेवा ठप्प पार्नेगरी आन्दोलन हुने संघका अध्यक्ष डा लोचन कार्कीले नेपाली नेटवर्कलाई जानकारी दिनुभयो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा रहनु भएको छ । अहिलेसम्म मौन र वेखवर जस्तो बनेको सरकारले डा. केसी अनसनमा बसेको २४औ दिनमा वार्ता टोली बनाएको हो ।
त्यसैगरी डा केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा रहेको वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा कार्की, पूर्व अध्यक्ष डा अन्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल रहनु भएको छ ।
उहाँसँग तत्काल वार्ता गरी उहाँको जीवन रक्षा गर्न अरु दर्जनौ संघ संस्थाहरुले पनि सरकारलाई दवाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भने डा केसीप्रति नकारात्मक टिप्पणी गर्दै डा. केसीले धेरै जिद्दी गर्ने गरेको आरोप लगाउने गर्नुभएको छ ।
१९औं पटक अनशन बसेका डा. केसीले यसपटक विकट क्षेत्रमा चिकित्सा शिक्षा शुरु गर्नुपर्ने, कोरोना संक्रमणबाट नागरिकको जीवन रक्षा गर्नु पर्ने, विगतमा आफुसँग सरकारले गरेका सम्झौताको कार्यान्वयन गर्नुपर्ने लगायतका छ बुँदे माग राख्नुभएको छ ।
गत भदौ २९ मा जुम्लामा उहाँले अनसन शुरु गरेपनि सरकारले त्यहाँबाट हटाएर काठमाडौ ल्याएपछि अहिले उहाँ त्रिभुवन शिक्षण अस्पतालमा अनशनरत हुनुहुन्छ ।