काठमाडौं। त्रिभुवन विमानस्थलले आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउन रोक लगाएको छ। विमानस्थल क्षेत्र आसपासमा पटक पटक यस्ता वस्तु उडाउने गरेकोले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बिमानस्थलले यस्तो गतिविधिमा रोक लगाएको हो।
विमानस्थल कार्यालयले आज एक सूचना जारी गर्दै यदि सुचनाको अवज्ञा गरे कारवाही गर्ने चेतावनी दिएको छ। सुचनामा चङ्गा, ड्रोन, बेलुन उडाउने र लेजर लाइट बाल्दा सुरक्षामा असर गर्न सक्ने उल्लेख छ ।
सोहीकारण नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान उड्ने क्षेत्रमा यस्ता गतिविधि नगर्न सचेत गराउँदै आएको छ। यस्ता गतिविधि भएको पाइएमा वा सूचनाको अटेरी वा अवज्ञा गरेमा कानून अनुसार कारवाही हुने कार्यालयको भनाइ छ। दशैं नजिकिँदै जाँदा काठमाडौंमा चङ्गा उडाउने गरिन्छ।