काठमाडौं । पछिल्लो पटक नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्युु भएको छ । संक्रमणका कारण मेची प्रादेशिक अस्पताल भद्रपुरमा दुई महिने शिशुको मृत्यु भएको छ । भद्रपुर–८ का दुई महिने शिशुको मृत्यु भएको हो ।
कोरोना संक्रमणको मिल्दो जुल्दो लक्षण देखिएपछि शिशुको स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट आउन अगावै उनको मृत्यु भएको थियो ।
त्यसकपछि आएको रिपोर्टमा कोरोनाको पोजेटिभ आएको अस्तालले जनाएको छ । शिशुमा निमोनियासँगै श्वासप्रश्वासमा समस्या देखिएपछि हिजो बिहान अस्पताल भर्ना गरिएको थियो ।
यस्तै, बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २ जना संक्रमितको आज मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या भएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको आज बिहान मृत्यु भएको हो । उनलाई उच्च ज्वरो र उच्च रक्तचापको समस्यासमेत रहेको गौतमले बताउनुुभयो ।
यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि कोरोना अस्पतालमा भर्ना गरिएकी महिलाको आज बिहान साढे ५ बजे मृत्यु भएको हो । मृतकमा सुख्खा खोकी, ज्वरो र उच्च रक्तचापको समस्या थियो ।
यसैगरी, भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा हिजो साँझ एक जना कोराना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुुसार भरतपुर महानगरपालिका–१० का ६१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनी सोमबार अस्पताल भर्ना भएका थिए । उनमा मंगलबार नै कोरोना पुष्टि भएको थियो ।
चितवनमा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोरोना ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ६२ जनामध्ये ५७ जना चितवनका हुन् ।
बाँकी पाँच जनामध्ये नवलपरासीका एक महिला र एक पुरूष, जाजरकोट, हुम्ला र मोरङका एक एक जना पुरूष रहेको अस्पताल प्रशासनले जनाएको छ ।