काठमाडौं । आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
यो वर्ष ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको हो।
नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो। त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ।
नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ।