काठमाडौं । अछाममा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्। गोठको छाना नजिकै घाँस काट्नेक्रममा छानामा लुकेर बसेको चितुवाले आक्रमण गर्दा रामारोशन गाउँपालिका –६ भटाकाटियाकी अन्दाजी ३५ वर्षीय हैकला साउँद घाइते भएकी छन्।
यस्तै सोही पालिकाकै २१ वर्षीय सूर्यबहादुर साउँद र ३७ वर्षीय जगत साउँदलाई गोठभन्दा करिब पाँच सय मिटर टाढा मकैवारिमा घाइते अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउँदले बताउनुभयो।
चितुवाको आक्रमणबाट हैकलाको हातमा चोट लागेको छ। घाइते तीनै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
तीनै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक साउँदले बताउनुभयो। चितुवाले आक्रमण गर्ने बित्तिकै हैकलाले हल्ला गरेकाले नजिकैका व्यक्तिहरू आएपछि चितुवा भागेको थियो।
दुई हप्ताअघि पनि रामारोशन गाउँपालिका–७ सुतारमा एक बालकलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो।