काठमाडौं । राम–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०८० सालमा प्रदान गर्ने सामाजिक सेवा पुरस्कार र सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।
कोषको आज बसेको साधारण सभाले स्वयम्सेवाको भावनाले नेपालीहरुको हितमा उदाहरणीय योगदान गर्नु भएका व्यक्ति वा सामाजिक संस्थालाई पुरस्कृत तथा सम्मानित गर्ने कार्यक्रम अन्तर्गत पुरस्कार घोषणा गरेको जनाएको छ ।
रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार (रु. २ लाख नगद र सम्मानपत्र) प्रशान्ति वृद्धाश्रम केन्द्र, वीरेन्द्रनगर नगरपालिका– ३, सुर्खेत (अध्यक्ष बालकृष्ण श्रेष्ठ र उपाध्यक्ष शीतल सिंह राठोर) लाई प्रदान गरिने भएको छ । त्यस्तै, रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार (रु. १ लाख नगद र सम्मानपत्र) नवजीवन परोपकार समाज, तारकेश्वर नगरपालिका – ७, काठमाडौं (संस्थापक अध्यक्ष दुर्गानाथ दाहाल) लाई, रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार (रु. १ लाख नगद र सम्मानपत्र) दृष्टि फाउन्डेशन, नेपाल धनगढी उपमहानगरपालिका – १, कैलाली (संस्थापक अध्यक्ष कल्पना भट्ट) लाई र , रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार (रु. १ लाख नगद र सम्मानपत्र) मातृ नेपाल अपाङ्ग संघद्वारा सञ्चालित बालगृह, ठुलागाउँ, तारकेश्वर नगरपालिका–३ (संस्थापक अध्यक्ष नरबहादुर राउत)लाई प्रदान गर्ने कोषको निर्णय छ ।
रामबाबु र ज्ञानु नेपाल दम्पतीले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको पुण्य स्मरणमा २०७० सालमा स्थापना गरेको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०७१ सालदेखि रु. दुई लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आएकोमा २०७४ देखि रु. चार लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्न थालेको छ ।
पुरस्कृत तथा सम्मानित गरिने प्रतिभाको निष्पक्ष, स्वतन्त्र तथा उद्देश्यमूलक ढङ्गबाट छनौट गर्नका लागि ५ जना संलग्न एक छनोट समिति गठन गरिन्छ र सो समितिले सूचना संकलन गरी स्थलगत भ्रमण समेत गरी निश्चित मापदण्डको आधारमा उत्कृष्ट प्रतिभाको सिफारिश गर्दछ ।




