काठमाडौं । बाँकेको शमशेरगञ्ज नजिकै ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् ।
बर्दिया ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा गएराति ९ बजेतिर रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ७० वर्षीय चानुराम थारु रहेका छन् ।
यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जोग बहादुर चन्द र नाम खुल्न बाँकी बसन्त भनिने सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।