काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसनको एकसाथ उद्घाटन गरेको छ।
सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरमा ५१ वटा चार्जिङ स्टेशन निर्माण गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सचिव दिनेशकुमार घिमिरेले भृकुटीमण्डपबाट चार्जिङ स्टेसनको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा ऊर्जामन्त्री बस्नेतले विद्युतीय सवारी साधनको प्रवर्द्धन र विस्तारको लागि आवश्यक सहुलियत र अनुकूल वातावरण बनाउन सरकार तयार रहेको बताउनुभयो। उहाँले सरकारले बुधबार(आज) ५१ वटा विद्युतीय चार्जिङ स्टेसन उद्घाटन गरेकोमा आगामी दिनमा देशव्यापी रुपमा विस्तार गर्ने योजना बनाएको जानकारी दिनुभयो। विद्युतीय सवारीले हरित र दिगो विकासमा महत्त्वपूर्ण योगदान गर्नसक्ने उहाँको भनाइ थियो।
यसैगरी कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतीय चार्जिङ स्टेसन बनाउनको लागि निजी क्षेत्र अगाडि आउनुपर्ने भनाइ राख्नुभयो । विद्युतीय सवारी साधन र चार्जिङ स्टेसन विस्तारका लागि निजी क्षेत्रको अग्रसरता आवश्यक रहेको उहाँको भनाइ थियो।
उहाँले निजी क्षेत्रलाई चार्जिङ स्टेसन विस्तारको लागि ल्याउन ऊर्जा मन्त्रालयले नीतिगत सुधार गर्न लागेको पनि बताउनुभयो। चार्जिङ स्टेसन निर्माणका लागि जग्गा र लगानीलगायत अन्य सुविधामा प्राधिकरणले सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । अझै थप ११ वटा चार्जिङ स्टेसन प्राधिकरणले बनाउने तयारी गरेको पनि जानकारी उहाँले दिनुभयो ।