Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिले आज पाटनस्थित कृष्ण मन्दिर गई श्रीकृष्णको पूजा एवं दर्शन गर्ने

राष्ट्रपतिले आज पाटनस्थित कृष्ण मन्दिर गई श्रीकृष्णको पूजा एवं दर्शन गर्ने

  • बुधवार, भाद्र २० २०८०

  • 474
    SHARES

  • राष्ट्रपतिले आज पाटनस्थित कृष्ण मन्दिर गई श्रीकृष्णको पूजा एवं दर्शन गर्ने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्ने हुनुभएको छ ।

    राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनी आज दिउँसो ३ बजे कृष्णमन्दिरमा पुग्ने कार्यक्रम रहेको छ । प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ।

    यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

    अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

    कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णले व्यक्त गर्नु भएको ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ ।

    छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

    श्रीकृष्णजन्माष्टमीका अवसरमा आज ललितपुरको पाटनको मङ्गलबजारसहित देशभरका कृष्णमन्दिरमा मेला लाग्दछ । मंगलबजारको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

    सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।


    बुधवार, भाद्र २० २०८०१०:२९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij