काठमाडौँ – नेपालमा पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको जानकारी दिए।
आइतबार देशभर कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो भने शनिबार ८ जनाको मृत्यु भएको थियो ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
१३ हजार ७ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ४० जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
काठमाडौँमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार ८ सय ६३ पुगेको छ।
सोमबार १ हजार १ सय ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या ६५ हजार ५ सय २ पुगेको छ।
हाल देशभर २३ हजार ५ सय ७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने क्वारेन्टिनमा रहेकाहरुको संख्या ४ हजार ३३ रहेको छ।