काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो पटक थप ३ जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान ५५ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुुभएको छ ।
सुनसरीस्थित धरान–१५ का ती पुरुषमा असोज १६ गते संक्रमण पुष्टि भएको थियो । यस्तै, कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी बुटवल उपहानगरपालिका १३ की ६५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।
ज्वरो, श्वासप्रश्वासको समस्या लिएर अस्पतालको फिभर क्लिनिकमा भर्ना भएकी उनको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको थियो । आज आएको उनको पीसीआर टेष्टको रिपोर्ट पोजेटिभ रहेको अस्पतालले जनाएको छ ।
उता, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पनि एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । दैलेखको नारायणपुर नगरपालिका –८ का ५१ वर्षीय पुरुषको हिजो मृत्युु भएको फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुुभयो ।
आन्द्रामा पनि समस्या देखिएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि हिजो नै शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो ।