काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका तत्कालीन प्रमुखसहित ३ जना भ्रष्टाचारमा दोषी ठहर भएका छन् । परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसहित ३ जनालाई विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर गरेको हो ।
घिमिरेसहित जोन सञ्चालक समितिका अध्यक्ष बालिका कुमारी गिरी र नारायणी एग्रो कम्पनी, जगतपुर चितवनका संस्थापक सदस्य गोपीनाथ भुसाललाई भ्रष्टाचारमा दोषी ठहर गरिएको हो । विशेष अदालतका न्यायाधीश शालिग्राम कोइराला र खुसीप्रसाद थारुको आजको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।
२०७७ पुस २९ गते उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । कामै नगरी किर्ते गरी रकम हिनामिना गरेको नक्कली बिल पेश गरेको र पदको दुरुपयोग गरी आफ्नै लगानी रहेको नारायणी एग्रो कम्पनीलाई अधिकांश योजना वितरण गरेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) पार्वतीपुर चितवनबाट प्राविधिक शिक्षालयका नाममा प्राप्त हुने रकम लक्ष्मी माध्यमिक विद्यालय जगतपुर चितवनको खातामा जानुपर्नेमा त्यसो नगरी सिधै नारायणी एग्रो कम्पनीको नाममा भुक्तानी दिई भ्रष्टाचार अख्तियारले जनाएको थियो ।
यसरी उनीहरूले १३ लाख भन्दा बढी भ्रष्टाचार गरेको भन्दै सोही अनुसार बिगो, जरिवाना तथा क्षतिपूर्ति कैदको माग दाबी गर्दै मुद्दा दायर भएको थियो । सोही मुद्दामा उनीहरू दोषी ठहर भएका हुन् । उनीहरूको सजाय निर्धारण भने हुन बाँकी नै छ ।