काठमाडौं।चितवनमा भयानक सवारी दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्गको भरतपुर–९ टिकौली जङ्गल क्षेत्रमा आज बिहान कलेज बसले शव बोकेको गाडीलाई ठक्कर दिँदा मलामी आएका थुप्रै मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटनामा परेका हुन् । दुर्घटनाबाट २० जनाभन्दा बढी घाइते भएका छन् ।
आज बिहान ११ः४० बजे भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेर आएको बलेरो गाडीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बा.प.०६–००१ प ९९८१, बा.प्र ०३–००५प ९७, ना ६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ नम्बरका मोटरसाइकल समेत उक्त दुर्घटनामा परेका थिए । त्यस्तै, तत्काल गति बन्द गर्न नसकेका बा.प्र.०६–००१ प २२९४ र बा.प्र. ०३–००२ प ४१९८ नम्बरका स्कुटर पनि सोही दुर्घटनामा परेका थिए । दुई पाङ्ग्रे सवारी साधनमा सवार सबै घाइते भएका छन् ।
२० जना घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ भने अन्य ११ जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको छ। घाइतेमध्ये १२ जना भरतपुर अस्पतालमा, एक जना नयाँ मेडिकल कलेजमा र अन्य सात जना पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेका सम्पूर्ण सवारी साधन घटना स्थलमै छन् भने बस चालक आशिष् परियार प्रहरीको नियन्त्रणमा छन् ।