काठमाडौं । युरोपियन युनियन (इयु) ले नेपालको हवाइ सुरक्षालाई सुदृढीकरण गर्न प्राविधिक सहयोग गर्ने प्रस्ताव गरेको छ ।
नेपाल नागरिक उड्यन प्राधिकरणले हाल हवाइ सुरक्षाका क्षेत्रमा लिएका कदमहरुलाई अझ प्रभावकारी र नतिजामुखी बनाउन प्राविधिक परियोजनाको विकास गर्न चाहेकोसमेत उसले उल्लेख गरेको छ ।
शुक्रबार साँझ सम्पन्न नेपाल र इयुको १२ औं संयुक्त आयोगको बैठकमा सो जानकारी गराइएको हो । सो बैठकमा नेपाली पक्षले हवाइ सुरक्षा सुधार गर्नका लागि लिइएको ठोस कदमहरुबारे इयुलाई जानकारी गराएको थियो ।
सरकारले हवाइ उडान सेवालाई सुरक्षित बनाउने उद्देश्यले नेपाल हवाइ सेवा प्राधिकरणको स्थापना गर्न थालेको छ र सोसम्बन्धि विधेयक संसदमा दर्ता गराइसकेको छ ।
अहिले राष्ट्रियसभामा विचाराधीन सो विधेयक संसदको हिउँदे अधिवेशनबाट पारित गर्ने सरकारको तयारी छ । बैठकमा इयुले यसलाई सकारात्मक कदम बताउँदै कार्यान्वयन गर्नका लागि थप प्रगतिको आवश्यकता औंल्याएको थियो ।