काठमाडौं । भारतको उत्तर प्रदेशमा भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । उत्तर प्रदेशको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा बाँकेको नेपालगञ्ज त्रिभुवन चोकका ६ जना नेपालीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । मृतक ६ जना दुई परिवारका रहेको जनाइएको छ ।
नेपालगञ्जको त्रिभुवन चोकका व्यावसायी सन्तोष कुमार गुप्ता, उनका दुई छोरा र एक छोरी र गुप्ताकै नातेदार हरि ओम मेडिकलका सञ्चालकका छोरा र छोरीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कारका चालक गम्भीर घाइते भएका छन् । उत्तर प्रदेशबाट नेपालगञ्ज फर्किदै गर्दा सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मृतकको भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।