काठमाडौं । बाजुरामा बाढी र पहिरोका कारण १३ परिवार विस्थापन भएका छन् । हिजो आएको बाढी र पहिरोका कारण हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार विस्थापित भएका हुन् । साथै दर्जनौँ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
हिमाली गाउँपालिका ३ युनामा हिजो घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिंह कठायतका अनुसार हिजो बिहान साढे ८ बजे आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको हो ।
पहिरोले घर बगाएपछि तीन जनाको परिवार बिचल्लीमा परेको छ । उनीहरूको सुरक्षित बासका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरी निरीक्षक कठायतले जानकारी दिनुभयो ।
पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको प्रहरीको भनाइ छ । युनामा रहेको आधारभूत स्वास्थ्यचौकी पनि पहिरोको जोखिममा परेको छ ।
साथै गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन् । लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका पाँच र ढल्काँडाका सात गरी १२ परिवार विस्थापित बनेको गौमूल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले जानकारी दिनुभयो ।
सिङ्गो बस्ती नै विस्थापित हुनेगरी पहिरो खसेको छ । दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन् । पहिरोका कारण १२ परिवारका ६० जनाभन्दा बढीलाई स्थानीय थुमथला आधारभूत विद्यालयमा राखिएको पालिका उपाध्यक्ष थापाको भनाइ छ।