काठमाडौं । कोशी प्रदेश सरकारमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको फैसला आज आउने भएको छ ।
सर्वोच्च अदालतमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा हिजो सुनुवाइ सकेको थियो। तर रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ।
सुनुवाइ सकिएको र आज अन्तिम आदेश नै गर्ने सर्वोच्च अदालतले जनाएको छ।
न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियो।
मुख्यमन्त्री नियुक्ति प्रक्रिया संवैधानिक भएको भन्दैगत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्ने गरी काम नगर्न र लिखित जवाफ पेश गर्न आदेश गरेको थियो।