काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघले बर्षायाम शुरु भएसँगै निम्तिने दैविक विपत्तिको सामनाका लागि सबै पालिका तयारीका साथ बस्नुपर्ने बताएको छ । बर्षायाममा आउने बाढी, पहिरोको जोखिमलाई कम गर्न पूर्वतयारीका साथ बस्न पालिकालाई महासंघको आग्रह छ । यसका लागि तीनै तहका सरकारको उल्लेख्य भूमिका रहनुपर्ने महासंघको ठहर छ ।
गाउँपालिका राष्ट्रिय महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘स्थानीय सरकारमा देखिएका समस्या समाधान गर्न तीनवटै तहका सरकारहरुको संयुक्त प्रयास जरुरी भएकोले संघीय सरकार र प्रदेश सरकारका सम्बन्धित निकायमा हार्दिक अनुरोध गर्दछौँ ।’
‘घरेलु पशुमा लाग्ने लम्पी स्किन रोग संक्रमणका कारण देशभर हजारौँ गाईभैँसीको क्षति भइसकेको र यसको संक्रमणको दरले महामारीको स्वरुप लिइसकेको छ । यो रोगको संक्रमणदर घटाउन र रोकथामका सबै विकल्पमा उचित पहलकदमी लिन तथा संक्रमित क्षेत्रमा भ्याक्सिनको पर्याप्त आपूर्ति गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछौँ, विज्ञप्तिमा भनिएको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो समय बर्षायामको मध्यम समय भएकोले बाढी, पहिरो तथा डुबानका समस्याहरु आउने अवस्थाको पूर्वानुमान गरी रोकथाम, उद्दार, राहत तथा पुनस्र्थापनाजस्ता विपद् व्यवस्थापनको तयारी र सोको प्रभावकारी व्यवस्थापनमा सबै स्थानीय सरकारहरुलाई हार्दिक अनुरोध गर्दछौँ । तराई क्षेत्रमा सर्पदंश, लामखुट्टेको टोकाईका कारण निम्तिने डेंगुको जोखिमबाट नागरिकलाई बचाउन उचित पहल गर्न आग्रह छ ।’
स्थानीय तह जनताको घर–घरसम्म पुग्ने निकाय भएकोले उसले जनताका समस्या र पीडा नजिकबाट बुझ्नुपर्ने महासंघको भनाइ छ ।
