काठमाडौं । सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले सुदुरपश्चिम प्रदेश सरकार अब दुर्गम गाउँहरुमा भेटिने दाबी गर्नुभएको छ ।
बैतडीको दुर्गम सिगास गाउँपालिका वडा नम्बर ३ स्थित लिफ्ट सिचाईं आयोजना उद्घाटन गर्न पुग्नुभएका मन्त्री धामीले प्रदेश सरकार अबदेखि दुर्गम गाउँमा भेटिने बताउनुभएको हो ।
मन्त्री बनेकै दिन दुर्गम बस्तीका समस्या समाधान गर्ने कसम खाएको धामीले जिकिर गर्नुभयो । उद्योग पर्यटन, वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित मागहरु लिएर मन्त्रालयमा आउन उहाँले आग्रह गर्नुभयो ।
खानेपानी आयोजना उद्घाटन गर्नुभएका मन्त्री धामी आफै दामाहा बाजा बजाएर नाच्दै कार्यक्रमका प्रस्तुत हुनुभएको थियो । गाउँमा खानेपानी बनेपछि आँखामा हर्षका आँशु बगाउँदै पुराना कथन सुनाई रहेका स्थानियबासीका अगाडी मन्त्री धामीका समेत आँशु थामिएन् ।
यता, बैतडीको दुर्गम गाउँ सिगास–३ लगन र ठुलसैनी गाउँमा खानेपानी नहुँदा त्यहाँका स्थानीयहरुलाई इष्टमित्रले छोरी दिनै छाडेका थिए ।
उक्त गाउँका युवाहरु विवाह गर्न छोरी माग्न जाँदा छोरीलाई खानेपानीको दुःख हुन्छ भन्दै छोरी दिदैँनथे । अहिले ३ किलोमिटर तल सिम्या खेतबाट लिफ्टिङ प्रणालीको खानेपानी आयोजना निर्माण भएसँगै खानेपानीको समस्या हटेको छ । प्रदेश सरकारको ८ करोड रकमको लगानीमा एक सय ३७ धाराहरु निर्माण गरिएका छन् ।
घरघरमै खानेपानी आएपछि स्थानीयबासीलाई सपना जस्तै लागिरहेको खानेपानी उपभोक्त समिति अध्यक्ष सुन्दर धामीले बताउनुभयो । अब बुहारी माग्न अप्ठ्यारो नभई धेरै योग्य बुहारीहरु भित्र्याउन सकिने जिल्ला समन्वय अधिकारी नरेन्द्र अवस्थीले बताउनुभयो । लगनमा खानेपानी आयोजना निर्माणका लागि सुदुरपश्चिम प्रदेशका पूर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री पठान सिंह बोहराले भुमिका खेल्नुभएको थियो ।

शनिबार खानेपानी आयोजना उद्घाटन गर्न बोहरा समेत लगन गाउँमा पुग्नुभएको थियो । उहाँले आफू बच्चा बेलामा यो गाउँमा पढाईका लागि बसेको र खानेपानीकै अभावका कारण अन्यत्र पढाई गर्न गएको स्मरण गर्नुभयो । ‘७ महिना मात्रै यस गाउँमा फुपुको घरमा बसेर पढाई गरेँ, तर आकाशे पानी भरिएको खाल्डोबाट पानी बोकेर खानुपर्दथ्यो, अहिले आफ्नै पहलमा पानी पुग्दा हर्षित छुँ, उहाँले भन्नुभयो ।’
स्थानीयबासीले खानेपानीका लागि दुःख गर्नुपर्ने दिन सकिएको भन्दै खुसीका आशु बगाएका थिए । घरमै धारा भएपछि डडेल्धुराको नवदुर्गाबाट ४ घण्टा हिडेर पानी बोक्ने बाध्यता हटेका स्थानीयबासीले बताएका छन् ।