सल्यान । जीबीएस नाम गरेको रोगबाट पिडित भएका सल्यानका एघार वर्षीय वालकको जीवन रक्षाको लागि घरपरिवारले सहयोगको याचना गरेको छ । विरलै मानिसलाई लाग्ने दुर्लभ रोग जीबीएस (गुलियन बेरी सिन्ड्रोम) का कारण छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ दमाचौर निवासी विरामी वालक रुपक थापाको परिवारले अहिले उपचारका लागि सहयोगको याचना गरेको हो ।
आफ्नो छोराले निकै कष्टकर जीवन विताइरहेको भन्दै रुपकका बुवा एकराज थापाले भक्कानिदै भन्नुभयो, ‘आठ महिना भइसक्यो । छोराले बोल्न, हिडडुल गर्न, खान सक्दैन, शरिर चल्दैन । अवस्था झन झन जटिल बन्दैछ । डाक्टरले जीबीएस रोग लागेको भनेको छ ।’ बालकको उपचारको लागि हालसम्म ३० लाख भन्दा बढी खर्च भइसकेको भन्दै अब थप उपचारको लागि घरको आर्थिक अवस्था कमजोर भएकाले थापाको परिवारले सहयोगको याचना गरेको हो । सोमबार तुलसिपुर स्थित रिपोर्टस् क्लवमा विरामी छोरा रुपक सहित पुगेका बुवा एकराजले पत्रकारहरुमार्फत छोराको उपचारको लागि सहयोगको याचना गर्नुभएको हो ।
‘सुरुमा बाबुलाई ज्योरो, पखाला, वान्ताको समस्या आएपछि गाउँमै रहेको स्वास्थ्य चौकी दमाचौरमामा लगियो,’ विरामी बालकका बुवा एकराजले भन्नुभयो, ‘समस्या झन बढ्दै गएपछि जिल्ला अस्पताल सल्यान, राप्ती प्रादेशिक अस्पताल दांग, नेपालगञ्ज न्यूरो ट्रामा, काठमाण्डौँका कान्ती वाल अस्पताल, मेट्रो अस्पताल, तेसला डाइगोनस्टीक क्लिनिक लगाएत विभिन्न अस्पतालमा उपचार गराउँदा लाखौँ रुपैयाँ सकियो । अझै पनि छोरो निको भएको छैन ।’ अहिले काठमाण्डौँमा राखेर उपचार गर्न नसकिने भएपछि दाङ तुलसिपुरमा फिजियोथेरापी गराइरहेको उहाँको भनाई छ । नियमित रुपमा दैनिक ५ घण्टा फिजियोथेरापी गर्नुपरिरहेको छ । कक्षा ६ मा अध्यनरत बालक रुपक विरामी परेदेखी पढाई अवरुद्ध छ भने दयनीय र कष्टकर अवस्थामा जीवन मरणको संघर्ष गरिरहेका छन् ।
बालकको उपचारको लागि सहयोग गर्न चाहनेहरुले मोवाईल नम्बर ९७६८२५६९१६ मा सम्पर्क गर्न सक्ने र एकराज थापाको नाममा मुक्तिनाथ विकास बैंक सल्यान शाखामा रहेको खाता नम्बर ०४२२२३०११०९८३३०००००१ मा आर्थिक सहयोग गर्न सक्ने उनको परिवारले जनाएको छ ।
उपचार पद्धती निकै महंगो भएकाले आर्थिक अभावमा बालकको उपचारमा समस्या आएको रुपकका हजुरबुवा भिम बहादुरले बताउनुभयो । ‘विरामीलाई आइसियु, भेन्टीलेटरमा राखेर पनि उपचार गरियो, एकदिनमा ८० हजार रुपैयाँ सम्म खर्च भयो, अझै नातीको अवस्थामा सोचेँ अनुसार सुधार आएको छैन,’ उहाँले भन्नुभयो । विरामी वालकको घरपरिवारका अनुसार सुधार नभएसम्म नियमित उपचार गरिरहनुपर्ने डाक्टरहरुले भनेका छन् । गएको पुस ३ देखी सामान्य ज्वरो, पखालाका विरामी परेका रुपक एक साता पछि बोल्न नसक्ने अवस्थामा पुगेका थिए । डाक्टरले जीबीएस रोग भनेर पहिचान गरेका बालको अवस्था अहिले नाजुक छ ।