काठमाडौं । चेक बाउन्स मुद्दामा पक्राउ परेका पूर्व मन्त्री तथा एमाले नेता विजयबहादुर यादवले दुई दिनमै लामो समय अड्काएर राखेको खातामा रकम जम्मा गराएका छन् ।
पक्राउ परेको अर्को दिन नै उनले बाउन्स गराएको चेकमा रकम जम्मा भएको जाहेरीवालाले बताएका छन् ।
लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका यादवलाई बैङ्किङ कसुर गरेको मुद्दामा आइतबार बाँकेबाट पक्राउ गरेको थियो ।
गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौँको चेक पटक पटक बाउन्स भएपछि उमाशंकरले विजयबहादुरमाथि बैङ्किङ कसुरको मुद्दा दर्ता गराएका थिए ।
रुपन्देही जिल्ला अदालतले असार २० गते यो मुद्दाका लागि पक्राउ अनुमति दिएको थियो । मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
रुपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार बाँकेको डुडुवा गाउँपालिका होलियाबाट पक्राउ परेका यादवलाई सोमबार रुपन्देही ल्याइएको हो । उनलाई आजै अदालतमा म्याद थप गर्ने तयारी थियो ।
जाहेरीवालाले खातामा रकम आएको भने पनि प्रहरीसमक्ष अझै त्यो सूचना पुगेको छैन । यो मुद्दामा रकम बुझाएपछि उनी तुरुन्तै रिहा हुन पाउँछन् ।