काठमाडौं । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन विभाग अगाडि प्रदर्शन भएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगायतका विभिन्न देशहरूमा जान लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि विनाकारण कामदारहरू फर्काइरहेको भन्दै आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध प्रदर्शन गरेको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले विना कारण अध्यागमन विभागले कामदार विदेश जनबाट रोकेका कारण विरोध गर्नुपरेको बताउनुभयो।
अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरूलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने उहाँले बताउनुभयो। अध्यागमनले कामदारलाई विदेश जान नदिने हो भने व्यवसाय नै बन्द गर्ने उहाँले बताउनुभयो ।
अध्यागमनमा हुने अनियमितता छानबिन गर, अध्यागमनबाट श्रमिक फर्काउने कार्य बन्द गर, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिने काम बन्द गर, भिजिट भिसामा हुने सेटिङ बन्द गर, अध्यागमनको ज्यादती बन्द गर, अध्यागमनका महानिर्देशक राजीनामा दे, व्यवसायीलाई दुःख दिने कार्य बन्द गर लगायतका प्लेकार्ड बोकेर नारा लगाउँदै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।