काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हातखुट्टा बाँधेर यातना दिइएको सम्बन्धमा छानबिन समिति बनाइएको छ । मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) जनक भट्टराईले आफूले घटनाबारे जानकारी पाएसँगै छानबिन समिति बनाइएको बताउनुभयो । आज जिल्ला प्रहरी कार्यालय सिराहाको नव निर्मित आवास भवन उद्घाटनको लागि पुग्नुभएका उहाँले घटनाको जानकारी पाएसँगै छानबिनको लागि समिति गठन गरेको बताउनुभयो ।
समितिको प्रतिवेदनपछि आवश्यक कारबाही हुने उहाँले दाबी गर्नुभयो । प्रहरी जवान अनु रायलाई हात पछाडि पारेर बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएसँगै यसमा मातहतका इन्सपेक्टर मुछिएका छन् । रायलाई आफ्नै कार्यालयका इन्स्पेक्टर हेमन्त राईले हातखुट्टा बाँधेर यातना दिएको आरोप लागेको हो ।
सामाजिक संजालमा भाइरल भिडियोमा प्रहरी जवान रायले रुँदै बाँधिएको हात खोलिदिन खोलिदिन अनुरोध गरेको सुनिन्छ । उनीसँग दोहोरो संवादमा रहेको व्यक्तिले सोधेको प्रश्नमा उनेले भनेका छन्, ‘मैले रक्सी खाएको छैन, मेरो हात खोलिदिनुस्। मैले रक्सी खाएको प्रमाणित भए म जागिर छोड्छु ।’
भिडियो संवादमा रहेका भनिएको इन्स्पेक्टर राईले पनि रक्सी खाए नखाएको जाँचपछि निस्किहाल्छ भन्दै मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै गरेको सुनिन्छ।’प्रहरी जवान रायले भिडियोमा रुँदै ‘मलाई यसरी यातना नदिनुस् बरु मारिदिनुस्’ भनेको समेत सुनिन्छ ।
सार्वजनिक भिडियोले प्रहरीभित्र अझै पनि तल्लो दर्जाको कर्मचारीमाथि गरिने व्यवहार उदाङ्गिएको छ । ‘मुस्कान सहितको सेवा’ दिने प्रहरी आफैले आफ्ना कर्मचारीमाथि गरेको गैरन्यायिक व्यवहारको आलोचना भइरहेको छ ।
प्रहरी जवान रायले अधिक ड्युटी गराएको गुनासो गर्न इन्स्पेक्टर राईकामा पुगेका बखत इन्स्पेक्टर राईले गाली गलौज गरेको बताइएको छ । त्यसपछि जवान रायले पनि जवाफ फर्काएकापछि हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको दाबी गरिएको छ । रायका आफन्तले न्यायको लागि अदालत जाने बताएका छन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी रवीन्द्र राज पाण्डेले रायले मादक पदार्थ सेवन गरेको भनिए पनि मेडिकल रिपोर्टमा नदेखिएको बताउनुभयो ।