काठमाडौं । सरकारसँग लम्पीस्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरूको उचित क्षतिपूर्तिसहितको ६ बूँदे माग राख्दै आएका पीडित किसानहरूले धर्नासमेत दिन थालेका छन्।
बुधबार(आज) ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमा पुगेर उनीहरूले आफूहरूको माग सम्बोधन गर्न दबाब स्वरूप एक घण्टा धर्ना दिएका हुन्। यो रोग तत्काल नियन्त्रण गर्न र पीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्न आफूहरूले सरकारलाई बाध्य बनाउने गरी आन्दोलनको कार्यक्रम सुरु गर्नुपरेको अखिल नेपाल किसान महासंघकी उपमहासचिव सरिता भुसालले बताउनुभयो।
उहाँले पशुपालक किसानहरूले लिएको कर्जा पनि सरकारले मिनाहा गर्नुपर्ने बताउनुभयो। पीडित किसानहरूले मरेका पशुहरूको बीमा रकमको भुक्तानी गर्न पनि सरकारले ढिलाइ गर्न नहुने बताएका छन्। लम्पीस्किन महामारीका कारण विस्थापित किसानहरूको पुनर्स्थापना र उनीहरूका लागि बीमाको भुक्तानी गर्न पनि सरकारसँग माग गरिएको अखिल नेपाल किसान महासंघ, काठमाडौंका इन्चार्ज पुष्कर प्याकुरेलले बताउनुभयो।
उहाँले सो रोग नियन्त्रणका लागि पर्याप्त भ्याक्सिनको व्यवस्था मिलाउन पनि सरकारसँग गर्नुभयो । राष्ट्रिय किसान सञ्जालको नेतृत्वमा आह्वान गरिएको धर्नामा लम्पीस्किन रोगको महामारी नियन्त्रण गरी ‘पीडित किसानलाई राहतको घोषणा गर, लम्पीस्किन रोगको महामारीबाट मरेका पशुहरूको वास्तविक लागत संकलन गरियोस्, पशुहरूमा लागेको लम्पीस्किन रोगको महामारी नियन्त्रणका लागि पर्याप्त भ्याक्सिनको व्यवस्था गरियोस्, महामारीबाट क्षति भएका पशुहरूको किसानलाई राहत र क्षतिपूर्ति दिइयोस्, लम्पीस्किन रोगको महामारीबाट मरेका पशुहरूको वास्तविक लगत संकलन गरियोस्’ भन्ने लेखिएको प्ले कार्डहरू पनि प्रदर्शन गरिएको थियो।