काठमाडौं । सरकारले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति शोक प्रकट गरेको छ । दाहालको निधनपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले यस दुःखद घडीमा प्रधानमन्त्रीसहित शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति सरकारले समवेदना प्रकट गरेको छ ।
बैठकले दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मान स्वरूप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । दिउँसो २ बजे पशुपतिस्थित आर्यघाटको सम्मानसहित उनको अन्तिम संस्कार गरिने छ ।