काठमाडौं। सोलुखुम्बुमा आज भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ।आज विहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पर्दा ६ जनाको मृत्यु भएको छ।
आज जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले छानबिन समिति बनाउने जानकारी दिनुभएको हो।
मन्त्री किरातीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए भोलीसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने जानकारी दिनुभयो।
‘हामीले डे वानदेखि नै सेफ्टी फर्स्ट भनेर यही नारा उच्चारण गरेका छौं। सेफ्टीमा कुनै सम्झौता हुँदैन। दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फर्स्ट भनेका छौं, हाम्रो पहिलो शर्त सुरक्षा हो,’ उहाँले थप्नुभयो,‘हामी छलफल बहसमा नै छौं, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौं। अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौं, भोलिसम्ममा गठन हुन्छ ।’
उहाँले नेपाली आकाशलाई सुरक्षित बनाउने प्रयासमा सरकार निरन्तर काम गरिरहेको बताउनु भयो। सोलुखुम्बुको लिखुपिकेमा आज बिहान मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको हो। उनिहरुको शवलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।