काठमाडौं । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको यात्रुवाहक बसमा करेन्ट प्रवाह हुँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । छत्रेश्वरी–६ का ३६ वर्षीय महेन्द्र वलीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी सल्यानका सूचना अधिकृत एवं प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । उनी बसका धनी रहेको खुलेको छ ।
बिहीबार(आज) बिहान गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । तुलसीपुरबाट छुटेको रा १ ख ८३४ नम्बरको बस सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै जाँदा उक्त घटना घटेको हो ।
बुधबार राति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
घटनामा रोल्पाको दलसिंगेका कालूराम डाँगी र टोपीलाल डाँगीको मृत्यु भएको थियो । उनीहरू दुवै जना बाबु र छोरा हुन् ।