Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

यातायात कार्यालय धनगढीका तत्कालीन प्रमुखसहित ३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

यातायात कार्यालय धनगढीका तत्कालीन प्रमुखसहित ३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

  • शुक्रवार, आषाढ ८ २०८०

  • 816
    SHARES

  • यातायात कार्यालय धनगढीका तत्कालीन प्रमुखसहित ३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा
    काठमाडौं । यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाहसहितका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
     
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्रको परीक्षामा सहभागी परीक्षार्थीको परिणाम फेरबदल गरेको दाबीसहित उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
     
    अख्तियारका केन्द्रीय प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा शाहले सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा सहभागी १८० जना र प्रयोगात्मक परीक्षामा २८३ जना परीक्षार्थीहरूको परीक्षाको परिणाम फेरबदल गरेको देखिएको उल्लेख गरिएको छ ।
     
    शाहले लिखित परीक्षामा सहभागी १३ जनाको उत्तर पुस्तिकाहरूको नतिजा/प्राप्ताङ्क र २३ जनाको नतिजा/प्राप्ताङ्क सच्याएको पनि भनिएको छ ।
     
    शाहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि भएको भएकाले सोही ऐनको दफा ११ र दफा १३ बमोजिम कैद र जरिवाना सजायको माग दाबी गर्दै आरोप पत्र विशेष अदालतमा दायर गरिएको अख्तियारले जनाएको छ ।
     
    यस्तै सोही कार्यमा तत्कालीन करार सेवामा सहायक कम्प्युटर अपरेटरमा कार्यरत नरेन्द्रकुमार कठरिया र पवनकुमार रावलको समेत संलग्नता देखिएकाले उनीहरूविरुद्ध समेत सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको छ ।
     
    तत्कालीन प्रमुख शाहले २८३ जना परीक्षार्थीहरूको परीक्षाको परिणाम फेरबदल गरेकोमा कठरियाले १६४ जना परीक्षार्थीहरूको प्रविष्ट नतिजालाई आफ्नो आधिकारिक युजर आइडीबाट स्वीकृत गरेको र पवनकुमार रावलले लिखित परीक्षाहरूमा अनुत्तीर्ण भएका ४ जना परीक्षार्थीहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरेर आफ्नो आधिकारिक युजर आइडीबाट लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट (अपलोड) गरेको पाइएको अख्तियारले जनाएको छ ।


    शुक्रवार, आषाढ ८ २०८००५:१४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij