काठमाडौं । चलचित्र संघले नेपालमा विवादित हिन्दी फिल्म‘आदिपुरुष’लाई प्रदर्शन नगर्ने निर्णय गरेको छ। संघले आज जारी गरेको विज्ञप्तिमा अदालतले प्रदर्शनका लागि बाटो खुला गरे पनि ‘आदिपुरुष’ बाहेकका अन्य फिल्मलाई मात्रै प्रदर्शन गर्ने उल्लेख छ ।
संघले नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु नैसर्गिक अधिकार रहेको समेत जनाएको छ । राष्ट्र र राष्ट्रियताभन्दा माथि कोही पनि छैन भन्ने मान्यता संघको रहेको भन्दै अदालत, संविधान एवं ऐन कानुनको पालना गर्नु नागरिकको कर्तव्य रहेको समेत संघले जनाएको छ ।
उच्च अदालत पाटनले हिजो काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध संघले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । जसअनुसार मंगलबार संघ र महानगर दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । साथै, सेन्सर बोर्डले पास गरेका फिल्मलाई प्रदर्शनमा रोक नलगाउन भन्दै अदालतले आदिपुरुष प्रदर्शनको बाटो समेत खुला गरिदिएको थियो ।
अदालतले आदेश दिए पनि आदिपुरुषको प्रदर्शन नगर्ने निर्णय संघले गरेको हो । जसअनुसार शुक्रबारदेखि नेपालमा सारा अली खान र विक्की कौशल स्टारर ‘जरा हट्के जरा बच्के’ फिल्मको पुनः प्रदर्शन भएको छ ।