काठमाडौँ । ग्यास लिक भएर आगो लाग्दा घाइते हुनुभएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले जलनबाट पीडित भएपछि मात्रै आफूलाई यो विषयमा बोल्नपर्छ भन्ने लागेको बताउनुभएको छ ।
राजधानीमा सोमबार भएको ‘अग्निजन्य दुर्घटना, सचेतना तथा उपचारमा पहुँच सम्बन्धी नीतिगत वहस’मा नेता भण्डारीले यस्तो बताउनुभएको हो ।
साथै उहाँले जलनको पिडामा कोहि पनि व्यति नपरोस भन्दै कामनासमेत गर्नुभएको छ ।
यस्तै सांसद भण्डारीले आगो, ग्यास, बिजुलीलगायतका प्रज्वलनशील प्रदार्थको जलनबाट पीडितको उपचार गर्नका लागि सरकारले सबैजसो अस्पतालमा आईसीयूको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।
जलनको उपचार गर्न भनेर ठूला भवनवाला अस्पताल निर्माण गर्नुभन्दा सबैजसो जिल्लाका अस्पतालमा आईसीयू बेड थप गर्नुपर्ने उहाँको भनाइ रहेको छ ।
जलनबाट पीडितको विषयमा राज्यका महत्त्वपूर्ण निकायमा रहेकाको ध्यान नगएको र नीति निर्माताहरूले पनि बेवास्ता गरिरहेको सांसद भण्डारीको गुनासो रहेको छ ।
जलनबाट पीडितको उपचारका लागि सरकारले ठूला बिल्डिङ बनाउनु आवश्यक नरहेको बताउँदै उहाँले सामान्य हस्पिटल आइसीयू सेन्टर भए पुग्ने स्पष्ट पार्नुभयो साथै सरकारले अस्पतालहरूमा आईसीयू बेड थप्ने योजना अगाडि सार्नुपर्ने सुझाव समेत दिनुभएको छ ।
जलनबाट पीडितको उपचार र औषधि गर्न अत्यन्त महंगो हुने भएकाले सरकारले त्यसमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
नेपालमा अग्नीजन्य दुर्घटनाका पीडितहरूको उपचार गर्ने नेपालमा पर्याप्त दक्ष जनशक्ति रहेको उहाँको भनाइ थियो ।
नेपालका विज्ञहरूले पनि यस्ता कुरामा ध्यान दिन नसकेको भण्डारीको गुनासो थियो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोख्रेलले वर्न वार्ड भएको तर संक्रमण रहित नभएको ‘रेफरल चेन’ नभएको बताउँदै किर्तिपुर अस्पताललाई धेरै ‘रेफरल केस ह्यान्डल’ गर्न असहज भएको बताउनुभएको छ ।
अब पैसा बाँड्ने नभई निशुल्क उपचार बनाउनुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा स्वास्थ्य क्षेत्रका विभिन्न प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।