काठमाडौं । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी सम्पर्कविहीन हुनुभएको छ। उहाँ पाँच दिनदेखि कसैको सम्पर्कमा नरहेको सुर्खेत उद्योग वाणिज्य संघले जनाएको छ ।
महासचिव भण्डारी कैलालीको कर्णाली चिसापानीबाट सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । भण्डारी चढ्ने गाडी चिसापानीमा फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीका निरीक्षक टेकराज जोराले जानकारी दिनुभयो ।
उहाँका अनुसार भण्डारीले प्रयोग गर्ने बा१८च ९८७५ नम्बरको गाडी लम्किचुवा नगरपालिकाको कर्णाली चिसापानीस्थित एक होटलमा पार्किङमा भेटिएको हो । गाडीमा मोवाइल पनि भेटिएको छ ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले महासचिव भण्डारी सम्पर्कविहीन हुनुको कारण खुल्न नसकेको बताउनुभयो । भण्डारी जेठ २२ गते टीकापुर गएर बसेको र २३ गतेदेखि सम्पर्कविहीन भएको कँडेलले बताउनुभयो ।