Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

बढ्दो गर्मी तत्काल नरोकिने संकेत, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव

बढ्दो गर्मी तत्काल नरोकिने संकेत, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव

  • बुधवार, जेठ २४ २०८०

  • 1.4K
    SHARES

  • बढ्दो गर्मी तत्काल नरोकिने संकेत, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव

    काठमाडौं । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको छ ।

    महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेशका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना छ । त्यसैले त्यसबाट बच्न सतर्कता अपनाउन जरुरी छ ।

    महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना छैन र तराई, पहाड तथा खोँचहरुमा समेत अझै तापक्रम वृद्धि हुने पूर्वानुमान छ ।

    आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको छ । दुम्कौलीको अधिकत तापक्रम जेठ २२ गते पनि ४३.८ डिग्री सेल्सियस थियो ।

    यस्तै जेठ १८ गते रौतहटको गौरमा ४३.८ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।तराई मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ ।

    पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा पनि माथि पुगेको रेकर्ड छ । गर्मी अत्यधिक बढेपछि तराई मधेशका जिल्लाहरुमा विद्यालय बन्द गरिएको छ ।

    यसअघि नै जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी गर्मी हुने र मनसुन अवधिमा कम पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

    विभाग मातहतको महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै बढ्दो गर्मीका कारण मानव स्वास्थ्यमा पर्नसक्ने असर र त्यसबाट जोगिने उपायहरु समेत सुझाएको छ ।

    बुलेटिनमा लेखिए अनुसार तातो हावा तथा लुबाट थकाइ लाग्ने, तीर्खा बढी लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस् हुने, पांसपेशीहरु दुख्ने, बान्ता हुने आदि लक्षण देखिन्छन् । यस्ता लक्षण देखिए स्वास्थ्य संस्था जान वा स्वास्थ्यकर्मीको परामर्श लिन महाशाखाले सुझाएको छ ।

    गर्मीको बेला घर बाहिर ननिस्कन, बाहिर निस्किनै परे टाउको छोप्न, पटक-पटक पानी वा झोल पदार्थ प्रशस्त पिउन र हल्का खालका सुतीका कपडा लगाउन पनि सुझाव दिइएको छ ।


    बुधवार, जेठ २४ २०८००७:२८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij