काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ज्येष्ठ नागरिक, दीर्घरोगी र बालबालिकालाई गर्मीबाट बच्न सुझाउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा. पुनले भन्नुभयो, ‘वातावरणीय सन्तुलन बिग्रँदा विश्वभरि नै तापक्रम बढ्दै गएको छ । शारीरिक रुपमा कमजोर, श्वासप्रश्वास, मुटुलगायतका दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिका यसबाट प्रभावित छन् । सामान्य मानिसले पनि गर्मीबाट बच्नैपर्छ । सकेसम्म कुनै अत्यावश्यक काम नपरीकन चर्को घाममा बाहिर नहिँड्नु जाती हुन्छ,।’
डा. पुनले अत्यधिक गर्मी बढ्दा संक्रामक रोगहरू निम्तने चिन्ता पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘केही दिन अझै तापक्रम निरन्तर बढ्न सक्ने विश्लेषण गरिएको छ । त्यसले संक्रामक रोगहरू निम्त्याउन सक्छ । त्यसैले खानपानमा ध्यान दिनुपर्छ । गर्मीमा अत्यधिक पसिना आउने भएकाले डिहाइड्रेसन हुन सक्छ । त्यसैले प्रशस्त पानी पानी, जुस वा झोलिलो पदार्थ पिउनुपर्छ । शरीरलाई पानीले भिजाउनुपर्छ ।’ कोठामा बस्दा झ्यालढोका बन्द नगर्न पनि उहाँले सुझाउनुभयो । अत्यावश्यक कामले बाहिर हिँड्नु पर्दा छाता ओढ्नुपर्ने वा बेला बेलामा शीतल ठाउँमा बस्नुपर्ने डा. पुनको भनाइ छ ।