काठमाडौं । डोटीको बोगटान–फुड्सिल गाउँपालिका वडा नम्बर २ घरभई हाल भक्तपुर बस्दै आएका दृष्टिविहीन लालबहादुर बोहरा अलपत्र परेका छन् । काठमाडौंमा उनको सहारा कोही नहुँदा समस्या भएको हो ।
भक्तपुर डेरामा बस्दै आएका बोहराले घरघरमा गई अगरबत्ती बेचेर जीविकोपार्जन गर्दै आएका थिए । पछिल्लो समय शरीरमा रगतको मात्रा कम भई थला परेका बोहरा यतिबेला बेसहारा बनेका छन् । अहिले काठमाडौंस्थित वीर अस्पतालमा उपचार गराईरहेका बोहराले समयमा रगत नपाउँदा जोखिम मोल्नु परेको छ ।
वीर अस्पतालको पुरुष वार्ड बेड नम्बर १२० मा उपचार गराईरहेका बोहरालाई हेरचाह गर्ने आफन्त समेत नरहेको उनले बताएका छन् । आफूसँग पैसा नभएपछि भौतारिएका बोहरालाई डोटीका टेक बमले वीर अस्पतालमा पुगी केही आर्थिक सहयोग र फलफूल हस्तान्तरण गर्नुभएको छ । बिहीबारका लागि रगतको समेत व्यवस्था गरिएको बमले बताएका छन् ।
काठमाडौंमा सपाङ्ग मानिसलाई बाँच्न समते धौधौ भइरहेका बेला जन्मजात आँखा गुमाएका बोहरालाई थप संकट रहेको छ । बोहराले आफूलाई सहयोग गरिदिन समेत याचना गरेका छन् ।