काठमाडौं । दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका रोल्पाका हरि बुढामगरलाई सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले बिहीबार(आज) सम्मान गर्नुभएको छ। मगरलाई सभामुखको सरकारी निवास बालुवाटारमा सम्मान गरिएको हो।
कार्यक्रममा सभामुख देवराज घिमिरेले बुढामगरले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै प्रशंसा गर्नुभएको छ। उहाँले भन्नुभयो, ‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ। तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पुर्याउनुपर्छ। नेपालीले तपाईंप्रति गौरव गरिरहने छन्।’
घिमिरेले मगरको उपलब्धि अपाङ्गता भएका व्यक्तिहरूका लागि अभूतपूर्व प्रेरणा भएको बताउनुभयो ।
कार्यक्रममा उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको संज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन आग्रह गर्नुभयो।