काठमाडौं । छुवाछूत विरुद्ध कानून जारी भएपनि विभेद नहटेकोले छुवाछूत विरुद्धको ऐनको व्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइएको छ ।
जागरण मिडिया सेन्टरले काठमाडौंमा हिजो बुधबार आयोजना गरेको पत्रकारसँग अन्तरक्रिया कार्यक्रमका सहभागीहरु यस्तो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले जातीय भेदभाव तथा छुवाछूत विरुद्धको कसुर सजाय ऐन आएपछि विभेदका घटनामा न्यूनीकरण हुनुपर्ने थियो तर, ऐन अनुसार कानूनी कारबाही हुन नसक्दा विभेदका घटना बढीरहेको बताउनुभयो ।
ऐन कार्यान्वयन नहुँदा जातीय भेदभावकै कारण दर्जनौले ज्यान गुमाएको बताउँदै उहाँले यसको कडाईका साथ कार्यान्वयनमा दलित सहित गैर दलितसमुदाय र सञ्चार क्षेत्रले समेत जोडदार रुपमा आवाज उठाउनुपर्ने बताउनुभएको छ ।
जातीय भेदभाव तथा छुवाछूत विरुद्ध कसुर सजाय ऐन २०६८ जारी भएको अहिले १२ वर्ष भए पनि जातीयताकै आधारमा दलित समुदायले ज्यान गुमाउनुपर्ने अवस्था रोकिएको छैन ।